एक मजदुरको आत्मकथा

आज मजदुर दिवस रे । १० घण्टा काम गरेर लखतरान परेर  घर फर्केपछि पो थाहा पाईयो । हुन त हामी गरिबलाई के को मजदुर दिवस ? दिनमा १० घण्टा काम गरे पनि हातमुख जोड्न धौ धौ छ ।

मानिसहरु श्रमलाई सम्मान गर भन्छन् तर मालिकलाई सम्मान नगरे त्यही पाएको काम पनि फुस्किन्छ । मालिकको अनुकम्पा छ र त धर्तीमा बाँचिएको छ ।

मजदुर हैन, दास जस्तो भएर काम गर्नुपरेको छ । कार्ल मार्क्स भन्ने महान दार्शनिकले धेरै वर्ष पहिला "दास क्यापिटल" भन्ने किताब लेखे रे । उनी र उनी जस्ता दार्शनिकहरुले कल्पना गरेको साम्यवाद र समाजवादले पनि खै त हामी जस्ता मान्छेको जीवन बदलिएको ? मलाई लाग्छ, अब दास-मालिकको सम्बन्धका बारेमा किताब लेखिने दार्शनिक जन्मिनुपर्छ ।

बिल गेट्स भन्ने संसारकै सबैभन्दा धनी मान्छेले भनेका छन् रे - "गरिब भएर जन्मिनु तिम्रो गल्ती हैन तर गरिब भएर मर्‍यौ भने त्यो तिम्रो गल्ती हो ।" हुन त उनका अम्रिकामा ८ घण्टा काम गरे खान नपाएर कोही पनि मर्दैनन् रे ।

यहाँ त सोर्‍ह घण्टा काम गरे पनि खान लाउनकै दु:ख ! देश मात्र गरिब हो नेपाल । मान्छे त धनी छन् । शेष घले र विनोद चौधरी पनि यहाँकै त हुन् ।

खै, कम्युनिस्ट र कमाउनिस्टहरुको हालीमुहाली रहेको यो समय र देशमा हाम्रो पनि दिन फेरिएला त ?

Comments

Popular Posts