How Does Bat Catch Its Prey ? | चमेरोको शिकार पक्रने अनौठो विधि

📺️पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

चमेरो निशाचर प्राणी हो दिनभरि अँध्यारो गुफाहरुमा लुकेर रातिको समयमा मात्रै आहाराको खोजीमा निस्किने गर्दछ । धेरै मानिसहरुलाई लाग्न सक्छ, रातको अन्धकारमा पनि चमेराले कसरी आफ्नो शिकार ठम्याएर समात्छ होला ? आजको यो भिडियो यही विषयमा केन्द्रित रहनेछ ।

चमेरोले आफ्नो शिकारलाई पत्ता लगाउनका लागि एक विशेष किसिमको प्राकृतिक विधि उपयोगमा ल्याउँछ, जसलाई प्रति–ध्वनि ठम्याई अर्थात इकोलोकेसन भनिन्छ । इको–लोकिशनको अर्थ कुनै पनि बस्तुको प्रतिध्वनि सुनेर त्यो वस्तु कहाँ छ र आफुबाट कति टाढा छ भनेर थाहा पाउनु हो ।

शिकारको खोजीमा उड्दा चमेराले हाम्रो कानले सुन्न नसक्ने हाई फ्रिक्वेन्सीको आवाज निकाल्छ । त्यो आवाज वरिपरिको हावामा फैलिन्छ र विभिन्न वस्तुहरुमा ठोक्किएर प्रतिध्वनि पैदा हुन्छ । त्यही प्रतिध्वनिलाई चमेराको अति संवेदनशील कानले ग्रहण गर्छ । चमेराको मस्तिष्कका स्नायुहरुले त्यही प्रतिध्वनिलाई विश्लेषण गरेर शिकार कुन दिशामा छ, कति टाढा छ र त्यो कस्तो खालको हो भन्ने विश्लेष गर्छन् । त्यही एनालाईसिसको आधारमा चमेराका मस्तिष्कले यसलाई आफ्नो शिकारतर्फ दिशानिर्देश गर्दछ ।

यो ईकोलोकेसन विधि यति सटीक हुन्छ कि, यसले मान्छेको रौ जत्रो चीज पनि कहाँ छ भनेर थाहा पाउन सक्छ । यही विधिको प्रयोग गरेर चमेराहरुले केही कुरा देख्नै नसकिने अँध्यारो स्थानमा पनि आफ्नो शिकार कहाँ छ भनेर पत्ता लगाउँछन् र त्यसलाई समात्न सफल हुन्छ । यसरी अरु जिवहरुले आँखाको मद्दतले गर्ने काम चमेरोले आफ्नो कानले गरिरहेको हुन्छ ।

चमेरो उड्ने भएकोले मान्छेहरु यसलाई चरा भन्ने ठान्दछन् तर यो विश्वको एक मात्रै उड्ने स्तनपायी जीव हो जसले चराले जस्तो अन्डा नपारी सिधैं बच्चा जन्माउँछ र आफ्नो बच्चालाई दूध पनि खुवाउँछ । त्यति मात्र हैन, यसको चराको जस्तो ठुँड हुँदैन । यसको अनुहार मूसाको जस्तो हुन्छ फेरि यसको शरीरमा चराको जस्तो प्वाँख नभएर रौं हुन्छन् । रुख तथा गुफाको भित्ताहरुमा उल्टो झुन्डेर बस्ने चमेरो वास्तवमा अनौठो प्राणी हो ।

यिनै कारणहरुले गर्दा यो विचित्रको प्राणीलाई रहस्यमय प्राणीको रुपमा अधिकांश मान्छेहरुले बुझ्ने गरेका छन् र यसबारेमा विभिन्न समाजमा अनेकौं अन्धविश्वासहरु व्याप्त रहेको पाईन्छ । कथा, कमिक्स र भिडियो गेमहरुमा पनि चमेरोलाई पिचाशी शक्तियुक्त प्राणीको रुपमा प्रयोग गरिएको भेट्टाईन्छ ।

Comments

Popular Posts