Charkha चर्खा

चर्खा कपास वा उनलाई कातेर धागो बनाउन प्रयोग गरिने घरेलु यन्त्र हो । चर्खाको शुरुवात कहिलेबाट र कुन देशबाट भयो भन्ने बारेमा इतिहासकारहरुको विचार बाझिएको देखिन्छ। विभिन्न सभ्यताहरुको अध्ययन गर्दा मानिसहरुले धागो कात्न चर्खाको प्रयोग गरेको भेटिन्छ । 'चर्खा' शब्द फारसी भाषाबाट आएको मानिन्छ, जसको सम्बन्ध संस्कृतको 'चक्र' भन्ने शब्दसँग निकै नजिक देखिन्छ जसको अर्थ हुन्छ - गोलो आकारको वस्तु ।

औद्योगिक क्रान्ति शुरु हुनुभन्दा पहिला कपडा उध्योगहरुमा चर्खाको प्रयोग निकै नै हुन्थ्यो । हाम्रो छिमेकी देश भारतमा पनि स्वतन्त्रता संग्रामको समयमा चर्खालाई आर्थिक स्ववालम्बनको प्रतिकको रुपमा प्रयोग गरिएको इतिहास भेटिन्छ ।

हाम्रो देश नेपालको कुरा गर्ने हो भने, तुलसी मेहरले सन् १९३० मा नेपालमा पनि चर्खा प्रचारको शुरुवात गरेका थिए | भारतमा महात्मा गान्धीले विदेशी बस्तुको बहिस्कार गर्न शुरु गरेको चर्खा आन्दोलनको प्रभाबले गर्दा तुलसी मेहर यसको प्रचारमा लागेका थिए | तत्कालिन राणा शासकहरूले उनलाई आर्य समाजको आरोप लगाई राष्ट्रद्रोह मुद्दा लगाएर चर्खा प्रचारमा प्रतिबन्ध लगाएका थिए ।

आधुनिकताले गाँज्दै गइरहेको यो युगमा चर्खाको प्रयोग निकै नै कम हुँदै गईरहेको देखिन्छ । तर मानव सभ्यताको अभिन्न अंगको रुपमा लामो समयसम्म रहेको यो यन्त्रको अस्तित्वलाई बचाईराख्नुपर्ने जिम्मेवारी हामी सबैको काँधमा आईपुगेको छ ।

Comments

Popular Posts